April 15, 2014
नेपाल पूर्वाधार विकास कम्पनी र टीबीआई होल्डिङ्स लि विच शेयर खरिद सम्झौता हस्ताक्षर कार्यक्रममा जारी गरिएको प्रेस विज्ञप्ती
मिति २०७१।१।३
काठमाडौ– कुलेखानी–हेटौडा सुरुङ्गमार्ग निर्माणको अगुवाई गरिरहेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको १ अर्ब रुपैया बराबरको शेयर टिबीआई होल्डिङ्सले खरिद गर्ने गरी मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीका अध्यक्ष कुशकुमार जोशी तथा टिबीआईका अध्यक्ष भवन भट्टवीच शेयर खरिद सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
जापानमा बसेर सफल व्यवसाय गरिरहेका भट्ट गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत हुनुहुन्छ । निर्माण सञ्चालन स्वामित्व र हस्तान्तरण (BOOT) अन्तर्गत निर्माण गरिने राष्ट्रिय गौरवको यस परियोजना अघि बढाउन गैर आवासीय नेपालीहरुसँगको यो सार्थक साझेदारीलाई निकै महत्वपूर्ण ठानिएको छ ।
नेपाल पूर्वाधार विकास कम्पनी स्वदेश र विदेशमा बस्ने नेपालीहरुको लगानी, दक्षता, विशेषज्ञता एवं श्रोतलाई एकिकृत एवं समुचित व्यवस्थापन गरेर मुलुकका लागि महत्वपूर्ण ठानिएका पुर्वाधार निर्माण गर्ने उद्देश्यले स्थापित पब्लिक लिमिटेड कम्पनी हो । यो सुरुङ्गमार्ग मुलुककै प्राथमिकताप्राप्त परियोजना हो भने कम्पनीको पनि प्रमुख महत्वको योजना हो । यो मार्ग नेपालमा पहिलो पल्ट सडक प्रयोग बापत प्रयोगकर्ताहरूसंग शुल्क उठाउने अनुमति सहित निजी क्षेत्रलाई सरकारले अनुमति दिएको परियोजना हो । निरन्तर प्रयास र नेतृत्व क्षमताप्रति विश्वास गर्दै यस कम्पनीलाई सरकारले जिम्मेवारी दिएपछि यसले स्वभाविक रूपमा सबैको ध्यानाकृष्ट गरेको छ र नेपालको आर्थिक परिदृष्य तथा पूर्वाधार संरचनाहरु नै परिवर्तन गरेर मुलुकको समृद्धिको दिशामा कोशे ढुंगा सावित हुने अपेक्षा गरिएको छ । यतिमात्र नभएर सिमित श्रोत साधन भएका धेरै जनतालाई लगानीको अवसर समेत यसले प्रदान गर्ने छ ।
५८ किलोमिटर लामो यो काठमाडौ– कुलेखानी–हेटौडा सुरुङ्गमार्गले राजधानीलाई हेटौडासम्म चार लेनको द्रुतमार्गमार्फत जोड्नेछ । यो राजमार्ग निर्माणभएपछि काठमाडौबाट हेटौडा एक घन्टाभन्दा कम समयमा पुग्न सकिनेछ । तीनवटा भिन्न गरी जम्मा ४ दशमलब ५५ किलोमिटर सुरुङ्ग यो राजमार्गमा हुनेछ भने यस परियोजनाको कुल लागत करिब ३५ अर्ब नेपाली रुपैया हुने छ । यो सडकबाट आवत जावत गर्नेहरुसँग यात्रा दुरी घट्दा बचन हुने जम्मा इन्धनको एक तिहाई रकम शुल्कका रुपमा उठाइनेछ । यो परियाजनाका लगानीकर्ताहरुका लागि बार्षिक १७ दशमलब ३५ प्रतिशत प्रतिफल प्राप्त हुनेछ भने इक्वीटी प्रतिफल १९ दशमलब ७ प्रतिशत हुनेछ ।
हस्ताक्षर कार्यक्रममा कम्पनीका अध्यक्ष जोशीले निजी क्षेत्रले देशको आर्थिक परिदृष्यमै परिवर्तन ल्याउन सक्ने यस्ता ठूला पुर्वाधार परियोजना निर्माणको नेतृत्व गरेर उदाहरण बन्नु पर्ने आवश्यकता औल्याउदै राष्ट्रिय गौरबको यो आयोजनामा आम जनतालाई पनि लगानीको अवसर प्रदान गरेर राष्ट्र निर्माण प्रकृयामा सहभागी हुने मौका मिल्ने बताउनुभयो । अन्ततोगत्वा यो परियोजना आर्थिक रुपमा सम्भाव्य भएकाले ऋण तथा इक्वीटी लगानीका लागि समेत अत्यन्त आकर्षक अवसर भएकोमा समेत जोशीले जोड दिनुभयो । आर्थिक र प्राविधिक रुपमा सम्भाब्य परियोजना भएकाले राष्टिय गौरबको यो पुर्वाधारको निर्माण स्वदेशी श्रोतबाटै सम्पन्न गर्न नेपालको वित्तिय क्षेत्र सक्षम रहेको प्रमाणित गर्नु पर्ने आवश्यकता पनि उहाले औल्याउनुभयो । यो परियोजनाको निर्माणसगै नेपाललाई एउटा शुन्दर र समृद्ध मुलुकका रुपमा रुपान्तरण गर्नसकिनेछ, र गर्बका साथ हामी भन्न सक्नेछौ, म पनि यसको एउटा हिस्सेदार हु, कार्यक्रममा जोशीले भन्नुभयो । यस कार्यको एउटा हिस्सेदार बनी हौसला प्रदान गर्नु भएकोमा भवन भट्टलाई धन्यवाद समेत दिन चाहन्छु ।
नेपाल पुर्वाधार विकास कम्पनीले नेपालमा लगानी गर्न इच्छुक सबै नेपालीलाई यो परियोजनामार्फत लगानी गर्ने अवसर प्रदान गर्न चाहेको जोशीले बताउनुभयो । सर्वसाधारणलाई परियोजनाको शुरुवात देखिनै लगानी मार्फत संलग्न हुने अवसर प्रदान गर्न यस कार्यको लागि नियुक्त मर्चेन्ट बैंकरहरु मार्फत धितोपत्र बोर्डमा प्रस्ताव पठाईसकेको सो कार्यको संयोजन यस कम्पनीको वित्तिय परामर्शदाता कम्पनी कृति क्यापिटल एण्ड इन्भेस्टमेन्ट्स् लिमिटेड गरिरहेको छ ।
हस्ताक्षर समारोहमा टीबीआई होल्डिड्का अध्यक्ष भवन भट्टले यो अत्यन्त आकर्षक परियोजना मात्र नभएर देशको सेवा गर्ने अवसरसमेत भएको बताउनुभयो । व्यावसायिक रुपमा उच्च सम्भावना भएको यो राजमार्गले लगानीका विभिन्न आयामहरु खोल्ने बताउदै भट्टले देशमै आशा र सम्भावनाको ढोका पनि खोल्ने विचार व्यक्त गर्नुभयो । यो राजमार्गले काठमाडौलाई हेटौडासम्ममात्र जोड्ने नभएर नेपाल र नेपालीकै खुशी, सहजता, बचत र समृद्धिलाई एकाकार गर्नेछ, भट्टले भन्नुभयो ।
कुशकुमार जोशी
अध्यक्ष
नेपाल पूर्वाधार विकास कम्पनी लि.