January 14, 2015
Second Annual General Meeting 2071-09-30 BS (January 14, 2015)
निजी लगानीमा पूर्वाधारहरुको निर्माण गरी समृद्ध एवं सम्पन्न राष्ट्र निर्माण गर्ने उदेश्य राखी उद्योगी/व्यवसायी, प्राविधिज्ञ, निर्माण व्यवसायी, स्थानीय जनता तथा निकायहरुको एकिकृत प्रयासबाट स्थापना भएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले हिजो मिति २०७१।०९।३० मा आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरको छ ।
उक्त साधारण सभाले आ.व. २०७०/०७१ को आर्थिक विवरण सहितको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । त्यसै गरी साधारण सभाले काठमाण्डौ-कुलेखानी-हेटौडा-सुरुङ्गमार्ग परियोजनालाई यथाशिघ्र सुरु गरी निर्धारित समयमा सम्पन्न गर्न र अन्य थप लगानीकर्ताहरुलाई कम्पनीमा समाबेस गराउन सहज हुने गरि निती निर्माण गरी अगाडी बढ्ने निर्णय भएको छ ।
विभिन्न समयमा अनर्गल प्रचार भएता पनि, कम्पनीले हालसम्म भए गरेका प्रगतिका कारण शेयरधनीहरु उत्साहित रहेको र उहाहरुबाट सके सम्म चाडो निर्माण कार्य प्रारम्भ गर्न सुझाब प्राप्त भएको छ । आर्थिक श्रोतको ब्यवस्थापनको पक्षमा कम्पनीले आशातित सफलता प्राप्त गरेको जानकारी सभालाई गराइएको थियो । २०७१ भाद्र ७ गते सम्पन्न क्यानेडियन कम्पनीहरुसँग परियोजनामा लगानी गर्ने बारे Master Agreement भए पछि उक्त सम्झौता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग विभाग, लगानी बोर्ड तथा नेपाल राष्ट्र बैकमा प्रक्रियागत रुपमा पेश गरी आवश्यक स्विकृतीको लागि पहल भईरहेको छ । क्यानेडिय कम्पनीका प्राविधीकहरुले काठमाण्डौ कुलेखानी हेटौडा सुरुमार्ग परियोजना क्षेत्रको हवाई निरिक्षण तथा परियोजनाको मुख्य सुरुङ् निर्माण स्थल कुलेखानीको स्थलगत भ्रमण गरी यसको भौगोलिक अवस्थाको समेत अध्ययन गरी सकेका छन् । परियोजनको Project Assessment Review गर्न क्यानडियन कम्पनी exp Services Inc सँग मिति २०७१।८।२४ मा गरिएको परामर्स सेवा सम्झौता अनुसार उक्त कम्पनीले परियोजनको जोखिम विश्लेषण, इन्जीनियरिङ्, वातावरणिय, सामाजिक तथा भूमि ब्यवस्थापन, संभार तथा संचालन, अनुमानित लागत आदिको अध्ययन गरी मस्यौदा प्रतिबेदन तयार गर्ने काम भईरहेको छ । विस्तृत ईन्जीनियरीङ्ग डिजाईन, सुपरीबेक्षण तथा निर्माणका कार्यहरु सँगसँगै अघी बढाई रहेको र Detailed Survey, Investigation, Engineering Design & Drawing document को मसौदा प्रतिबेदन तयार पारी नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरी सकिएको छ । जग्गा जमिनको अन्तिम मुल्यदरहरु तय गर्ने, परिमार्जीत Alignment area को विवरण संकलन गर्ने कार्यहरु पुरा गरी EIA को परिमार्जीत मसौदा तयार गर्ने कार्य तर्फ कामहरु भई रहेको, सरकारी जग्गाको विवरण सहित मस्यौदामा उल्लेख भए बमोजीम दर रेट तय गर्ने कार्य समेत भई रहेको छ ।
अन्ततः यस कम्पनीको सञ्चालक समितिको तर्फबाट कम्पनीलाई यस अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पुर्ण संस्थापक शेयरधनीहरु, प्राविधिकहरु, कम्पनीका कर्मचारीहरु, निर्माण ब्यवसायीहरु, स्थानीय जनता एवं निकायहरु, राष्ट्रप्रेमी जनसमुदाय, सम्पूर्ण राजनीतिक दलका कार्यकर्ताहरु, नेपाल सरकार तथा सञ्चार जगत एवं सरोकार राख्नुहुने सम्पुर्ण पक्षबाट प्राप्त सहयोग, समर्थन एवं सद्भावको लागि हार्दिक आभार व्यक्त, गर्दै निरन्तर सहयोग एवं सद्भावको अपेक्षा सहित धन्यवाद ज्ञापन गर्दछौ ।
धन्यवाद
कुशकुमार जोशी
अध्यक्ष