July 13, 2014
वातावरणीय प्रभाव मूल्याङ्कनको सार्वजानिक सुनुवाई सम्पन्न
मिति २०७१।३।३२
काठमाण्डौं — कुलेखानी — हेटौंडा सुरुङ्गमार्ग निर्माणको लागि वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) को सार्वजनिक सुनुवाइको कार्य सम्पन्न भएको छ । यही २०७१ आषाढ २७, २८ र २९ गते मकवानपुर र काठमाण्डौका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रम स्थानीय सरोकारवालाहरुको भब्य उपस्थितीका विच सम्पन्न भयो ।
उक्त कार्यक्रम २७ गते मकवानपूरको भैंसे (सानटार) र निवुवाटार तथा २८ गते मकवानपूरकै कुलेखानी र काठमाण्डौको सेतिदेवीमा आयोजना गरिएको थियो । त्यसै गरी २९ गते टौदहमा आयोजना गरिएको थियो । यो परियोजना निर्माण कार्य सम्पन्न गर्न ढिला गर्नु नहुने र यसलाई सफल पार्न स्थानीयको तर्फबाट सक्दो सहयोग गर्नेमा उपस्थितहरुले जोड दिएको थिए । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटड काठमाण्डौं—कुलेखानी—हेटौडा सुरुङ्ग मार्गको निर्माण तथा संचालनको उदेश्यले निजी तथा स्थानीय जनताको प्रत्यक्ष संलग्नता सहितको 4P अवधारणा अनुरुप पूर्वाधार संरचनाको निर्माण तथा संचालनमा निजी लगानी संम्वन्धी ऐन २०६३ र यस अन्तरगत बनेका नियमावलीको आधारमा, निर्माण गरी संचालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट अनुमती समेत प्राप्त गरी वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य अन्तिम चरणमा छ ।
यस काठमाण्डौं—कुलेखानी—हेटौंडा सुरुङ्ग मार्ग निर्माण तथा संचालन प्रस्तावको कार्यान्वयनको सिलसिलामा वातावरण संरक्षण ऐन बमोजिमको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयार भईसकेको र नियमानुसार उक्त प्रतिबेदनका बारेमा सार्वजनिक सुनुवाइको आयोजना गरी थप राय सुझाव संकलन गर्नुपर्ने प्रावधान अनुसार यो सार्वजानिक सुनुवाई सम्पन्न गरीएको हो ।