KKHT Highway Ground Breaking Ceremony at Bhimphedi

November 11, 2013


नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काठमाण्डौ–कुलेखानी–हेटौडा सुरुङमार्गको कार्य प्रारम्भ

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले राष्ट्रिय महत्वको काठमाण्डौ–कुलेखानी–हेटौडा–सुरुङमार्गको पूर्व तयारी तथा प्रारम्भिक चरणको निर्माण कार्य पूर्व निर्धारित लक्ष्य अनुसार गत २०७०/७/२५ गते सोमबार देखि मकवानपुर जिल्लाको भिमफेदी गा.वि.स. वडा नं ३, कोलडाडाबाट प्रारम्भ गरेको छ । कम्पनीका अध्यक्ष कुशकुमार जोशीले भब्य कार्यक्रमका विच निर्माणकार्यको शुभारम्भ गर्नु भएको थियो । गत आश्विन ७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले सुरुङमार्ग निर्माणकार्य प्रारम्भ गर्ने मिति निर्धारण गरेको थियो । नेपाल सरकारसँगको सम्झौता बमोजिम निश्चित समय भित्र यो परियोजनाको निर्माण कार्य सम्पन्न गर्नु पर्ने भएकोले उक्त दिनबाट कार्य प्रारम्भ गरिएको हो ।

कम्पनीको बृहत एवं औपचारिक कार्यक्रम गरी सुरुङमार्ग निर्माणको शुभारम्भ गर्ने कार्यक्रम रहेको भए पनि आसन्न संविधानसभाको निर्वाचन आचारसंहिता तथा निर्वाचन कार्यक्रम लगायतका अन्य विषयहरुलाई कुनै असर नपुग्ने गरी यो प्रारम्भिक निर्माण कार्य मात्र प्रारम्भ गरिएको हो । सुरुङमार्ग निर्माणको अवधारणाप्रति सबै राजनीतिक दल, आम शुभचिन्तकहरु, लगानीकर्ताहरुको सहयोग र समर्थन पाएरनै हामी यो परियोजनालाई मूर्तरुप दिने अवस्थामा आइपुगेका हौ ।

विकास निर्माणसँग सम्बद्ध कार्य सबैको साझा कार्यक्रम भएको र सार्वजनिक– निजी– जनता साझेदारी (फोर पी) मोडलको पहिलो परियोजना भएकोले यसले कसैलाई पनि कुनै प्रकारको असर नहुने गरी निर्माण कार्यको थालनी गरिएको हो । हामीले सुरु गर्न लागेको परियोजना कुनै राजनीतिक वाद नभई आमजनताको विकासको चाहना हो भन्ने सबै राजनीतिक दलले बुझिदिनुहुनेछ भन्ने हाम्रो ठम्याई छ । यो परियोजनासँग जोडिनुभएका तमाम लगानीकर्तालाई तोकिएको समयमा परियोजना निर्माण सम्पन्न गरेर प्रतिफल दिनुपर्ने अवस्थालाई पनि सबै राजनीतिक दलहरुले बुझिदिनुहुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । हामी आसन्न संविधानसभा निर्वाचन पछि निर्माण कार्य द्रुत्ततर गतिमा अगाडी बढाइने प्रतिवद्धता व्यक्त गर्दछौ ।